धनगढी । सुदूरपश्चिम प्रदेश अर्थमन्त्रीमा तारा लामा तामाङ र अर्थराज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तामाङ र बोहरालाई मन्त्रीमा नियुक्त गराएका छन् ।
तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरी सपथ समेत गराएका छन् । पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिएका थिए। उनीसंगै अर्थराज्य मन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी थिइन्।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीबाट प्रकाश बहादुर शाहले राजिनामा दिएपछि रिक्त रहेको आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थराज्य मन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरिएको हो। माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ। प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका १/१ सांसद छन्।