धनगढी। नेपाली काँग्रेसले कैलाली र बाजुरासहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। सदस्यता छानविन समितिले कैलाली र बाजुरासहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार नै टुंग्याएको हो ।
नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले विवाद निरुपण गरेका हुन्। कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले १० जिल्लाको क्रियाशील सदस्यता टुंगो लागेर प्रिन्ट भइसकेको जानकारी दिए।
पौडेलकाअनुसार समितिले विवाद समाधान गरेका जिल्लाहरूमा कैलाली, बाजुरा, काठमाडौं, काभ्रेपलान्चोक, कपिलवस्तु, बर्दिया, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी र पर्सा रहेका छन् । विवाद टुंगिएका जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।निर्वाचन समितिका एक सदस्यले सम्भवत् आज बेलुकीसम्म विवादित सबै २० जिल्लाको सदस्यता विवाद टुंगिने खबर पाएको जानकारी दिए ।
कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । ५ असोजमा बाँकी २० जिल्लामा अधिवेशन गर्ने तयारी छ । कांग्रेसले १८ भदौमा देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न सकेको थिएन । कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको छ । परिवर्तित निर्वाचन कार्यतालिकाअनुसार पालिका तहमा ९ असोजमा अधिवेशन हुने छ । त्यसअघि नै सबै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।