डडेलधुरा– कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले डडेलधुरामा फेरि वडा अधिवेशन हुन नसक्ने बताएको छ।वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले डडेलधुरामा भएको वडा अधिवेशनलाई अमान्य घोषणा गरेपछि देउवा पक्षको उक्त भनाइ आएको हो।
क्रियाशील सदस्यता विवाद यथावत रहेको तथा जिल्ला कार्यसमितिको समर्थन विना वडा अधिवेशन भएकाले बदरको माग पौडेल पक्षले गरेको छ। सभापति देउवाको गृह जिल्लामा वडा अधिवेशन एकपक्षीय रुपमा गरिएको पौडेल पक्षको निष्कर्ष छ। पौडेल पक्षले डडेलधुरामा पुनः वडा अधिवेशनको माग गरेको छ।
‘क्रियाशील सदस्यताको विवाद कार्यदलले टुंगाएको हो। फेरि वडा अधिवेशन गर्नुपर्छ भन्ने मैले सुनेको छैन,’ महामन्त्री पूर्णबहादुर खड्काले भने। सत्ता र शक्तिको दुरुपयोग गरि डडेलधुरामा वडा अधिवेशन भएको पौडेल पक्षले जनाएको छ। ५२ वटै वडामा बाहिरी जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याएर एकपक्षीय अधिवेशन भएकाले अमान्य भएको पौडेल पक्षको निचोड छ।
जिल्ला कार्यसमिति तथा वडा समितिले समेत अस्विकार गरेको वडा अधिवेशन बदर गरी फेरि अधिवेशन हुनुपर्ने माग गरिएको छ।देउवा पक्षीय नेता बीरबहादुर बलायरले फेरि अधिवेशन हुनै नसक्ने बताए। ‘वडा अधिवेशनमा उनीहरुका (पौडेल पक्ष)मान्छे पनि आएका छन्। कसले कति भाग लिएका छन्। हेरे भइहाल्यो नि,’ बलायरले भने, ‘फेरि वडा अधिवेशन हुँदैन।’पौडेल पक्षको शीर्ष नेताको बैठकले भदौ २५ मा भएको डडेलधुराको वडा अधिवेशन विधिसंगत नभएको ठहर गरेको छ।