बैतडी। बैतडीकी एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । बैतडीको डिलाशैनी गाउँपालिका– ४ की २० वर्षीया सुत्केरी महिला मञ्जु कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको हो।
स्थानिय स्वास्थ्य चौकी मठैराज स्वास्थ्यचौकीमा सुत्केरी भएकी कार्कीेको बच्चा जन्माएपनि साल–नाल अड्कीएपछि उनलाई हेलिकोप्टरमा मार्फत उद्धार गरेर धनगढी ल्याइएको हो । जिवन मरणको अवस्थामा रहेकी कार्कीको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा सोमबार साझ उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।
डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक पुरुसोत्तम नाथले नाल टुटेर साल पाठेघरभित्रै अड्कीएकाले सुत्केरीको ज्यानै जाने जोखिम थियो भने । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने मठैराज स्थित मठैराज स्वास्थ्य चौकीमा भदौ २७ गते भर्ना भएकी मञ्जु २८ गते बिहान ११ बजे सुत्केरी भएकी थिइन् । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत कार्कीको उद्धार गरिएको हो । हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार गरिएपछि उनको ज्यान जोगिएको छ ।