धनगढी। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै छ।
नेकपा एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) ले पहिलो पटक संसदीय दलको बैठक बोलाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य दुर्गाकुमारी बिकले जानकारी दिइन् ।दिउँसो १ बजे प्रदेश सभा सचिवालयमा बस्ने बैठकमा संसदीय दललाई पूर्णता दिने, कार्यालय व्यवस्थापन गर्ने, दलको नेता चयन गर्ने लगायतका समसामयिक विषयमा छलफल हुने जानकारी दिइन् ।
उनले भनिन् , ‘बैठकमा संसदीय दलको प्रमुख सचेतक, सचेतक र दलको नेता चयनका विषयमा पनि छलफल हुनेछ। निर्वाचन आयोगबाट संसदीय दलले आधिकारीकता पाएको पत्र शुक्रबार प्रदेशसभा सचिवालयमा पुगेको बिकले भनिन्, ’ श्रोतका अनुसार आपसी सहमती जुटेमा संसदीय दलको नेता आजकै बैठकबाट चयन हुने सम्भावना रहेको जनाइएको छ । १४ जना प्रदेशसभा सदस्यसहित सुदूरपश्चिम प्रदेशसभामा पहिलो दल बनेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, एमालेका तत्कालीन प्रमुख सचेतक तारालामा तामाङ आकांक्षी रहेका छन्।