काठमाडौं। प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायमै गरेको छ । सभामुख अग्नीप्रासद सापकोटाले प्रतिनिधिसभाको बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए । बैठकमा नाराबाजी गरेका सांसद्हरुलाई सभामुख सापकोटाले अवरोध नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ।
एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो। पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए ।
उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन्। पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।