काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चर्को आलोचना गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए।
उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए।
उनले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताए । उनले भोलि पनि माधव नेपाल मात्रै एकीकृत पार्टी रहने बताए । उनले एमाले पार्टी कहाँ छ भनेर कसैले सोध्यो भने धारा खोलेर देखाइदिन, नागरिक एप्स खोलेर देखाइदिन, फोर जी नेट चलाएर देखाइदिन आग्रह गरे । उनले मेलम्चीको पानी ल्याउन पनि एमाले चाहिने भन्दै आगामी निर्वाचनमा एमालेले चुनाव जितेर मेलम्चीको पानी ल्याउने दाबी गरे । उनले अहिलेको सरकार विकास विरोधी रहेको भन्दै यो सरकारले क्रेन ल्याएर धरहरा भत्काउन सक्ने, रानीपोखरीमा ढुङ्गा हाल्न सक्ने दाबी गरे ।