सुदूरपश्चिम। सुदूरपश्चिमका ९ जिल्लामध्ये कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । कञ्चनपुर, डोटी र अछामका सबै वडामध्ये अधिकांशमा सर्वसम्मत र कुनै वडामा केही पदमा निर्वाचन भएको छ ।
बझाङमा शुक्रबार ९४ मध्ये ७० वडाको अधिवेशन भएको छ । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरासहित कैलाली, बाजुरा, बैतडी र दार्चुलामा पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार वडा अधिवेशन सुरु हुन सकेन । ती जिल्लाका कांग्रेसका अनुसार क्रियाशील सदस्यहरूको विवरण प्राप्त हुन नसकेर तयारी पूरा नभएका कारण अधिवेशनको मिति सारिएको छ ।
बैतडीमा भदौ २१ गते, दार्चुलामा २२ गते, कैलालीमा २४ वा २५ गते, बाजुरामा २२ गते वडा अधिवेशन हुने कार्यक्रम छ । डडेलधुरामा अझै निश्चित हुन सकेको छैन । डडेलधुरामा क्रियाशील सदस्यताको विवरण नै प्राप्त हुन सकेको छैन । दार्चुलामा भने बाढीपहिरोका कारण विभिन्न वडाको जनजीवन प्रभावित भएकाले अधिवेशन सारिएको हो । सुदूरपश्चिमका ८८ स्थानीय तहका वडाहरूमा वडा कार्यसमितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरूको अधिवेशनबाट छनोट हुने कार्यक्रमअन्तर्गत शुक्रबारदेखि अधिवेशन सुरु भएको हो ।