धनगढी। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चाको समानान्तर कमिटी गठन गर्ने ५ जना नेता तथा कार्यकर्तालाई कार्बाही गरेको जनाएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अवैधानिक रुपमा समानान्तर कमिटी गठन गर्ने, भेला राख्ने नेता तथा कार्यकर्ताहरुलाई सबै पदबाट हटाउनुका साथै साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूरपश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्नेलाई कारर्बाही गरिएको जनाए। महासचिव भट्टले पार्टीको नाममा ‘अवैध’ भेला बोलाएको तथा फुटपरस्त गतिबिधी गरेको भन्दै भदौ १७ र १८ गते पार्टीको केन्द्रीय समितिको बैठकले निष्कासन गरेको जानकारी दिए।
सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको समानान्तर कमिटी गठन गर्ने ५ जना नेता तथा कार्यकर्तामा पार्टीका केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरु लक्षीराम आचार्य, केशवनाथ योगी, गोविन्द विकलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्टले बताए।
भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटक पटक संसद बिघटन गरेकोले जनमोर्चा त्यसका बिरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको बताए। यसअघि जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएको थियो।