धनगढी। एमाले विभाजनपछि सुदूरपश्चिमका प्रदेश सांसद कित्ता क्लियर गर्न थालेका छन् । नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसद आजै प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर १० जनाले सनाखत गरेका हुन् ।
प्रदेश सभामा रहेका एमालेका सभामुखबाहेक २४ सांसदमध्ये अधिकांश नेकपा (एकीकृत समाजवादी) रोज्ने पक्षमा देखिएका छन् । प्रदेश सभामा विगतमा १७ जना माधवकुमार नेपाल र सातजना केपी शर्मा ओली पक्षमा थिए। आज १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादीमा सनाखत गरेपनि भोली त्यो संख्या बढेर १४ जना पुग्ने समाजवादीमा सनाखत गरेका प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले जानकारी दिए ।
उनले प्रदेशमा नेकपा एकीकृत समाजवादी सवै भन्दा ठुल्लो दल बन्ने जानकारी दिए । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् । सनाखत गर्नेमा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन् ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, राज्यमन्त्री अर्चना गहतराज र प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि आजै सनाखत गर्ने भनिएकोमा उनीहरु निर्वाचन कार्यालयमा उपस्थित भएनन् । विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १३ जना नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को पक्षमा आजै सनाखत गर्ने तयारी भएपनि केहि कागजपत्र नपुगेका कारण अन्यले भोली गर्ने नेकपा एकीकृत समाजवादीकी केन्द्रीयत सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताईन । उनले २२ गतेसम्म थप दुई/तीन जनाले सनाखत गर्ने दावी गरिन् । मन्त्री जोशीले अहिले प्रदेश सरकार हेरफेरको कुनै तयारी नभएपनि २२ गते पछि सरकार फेरबदल हुने दावी गरिन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले आफूसहित ३/४ जना सांसदले भोलि सनाखत गर्ने तयारी रहेको बताए। विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन् । एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ। विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए। उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल अहिले सम्म सभामुखसहित २५ सांसद एमालेमा रहेका थिए ।