धनगढी। नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न सुदूरपश्चिम एमालेका सांसद प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेका छन्। नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभा सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउँद पुगेका छन्। माधव नेपालको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने एमाले प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी रहेका छन् ।
निर्वाचन आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने जनाएको छ। दल सनाखत गर्न प्रदेशसभा सदस्यले सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने छ। त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको जनाइएको छ ।