धनगढी । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन् ।
आज बेलुका ५ बजेसम्म १४ जना भन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ । अहिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी भइरहेको बताइन् ।
‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ। हामी आजै धनगढीस्थित कार्यालयमा पुगेर सनाखत गर्ने तयारी भईरहेको उनले बताइन् । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन्। विगतमा उनीहरुमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए। नयाँ पार्टी दर्ता भएपछि अंकगणित फेरवदल हुने सम्भावना छ ।
नेकपा एकीकृत ९समाजवादी० पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको थियो। सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।
आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ। प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ।