काठमाण्डौँ। २०७५ जेठ २ मा फर्किएपछि नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि सातवटै प्रदेशमा जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन जारी गरेको हो ।
एमालेले हालै सम्पन्न भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ । नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जको जिम्मेवारी तोके सगै सुदूरपश्चिममा पनि तीन जना नेतालाई खटाईएको छ । जसअनुसार भने सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरि, प्रदेश १ मा भीमप्रसाद आचार्य, सुुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्बोहाङले जिम्मेवारी पाएका छन् ।त्यस्तै प्रदेश २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साहलाई जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेलले जिम्मेवारी पाएका छन् । गण्डकीमा किरण गुरूङ, पृथ्वीसुब्बा गुरूङ, जगत विश्वकर्मा, लीलबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरि लुम्बिनीमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरिलाई जिम्मेवारी तोकिएको छ । कर्णालीमा उपाध्यक्ष युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै जनसंगठनहरूमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेलको नेतृत्वमा टोली बनाइएको छ । जसमा पोखरेलसहित विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहेका छन् ।