धनगढी। दार्चुलामा बाढी पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धार र पुनःस्थापनामा खट्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिएकी छिन् ।
आइतबार राति दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न मन्त्री जोशीले प्रशासनलाई निर्देशन दिएकी हुन् । जिल्लाका विभिन्न स्थानमा बर्षाका कारण बाढी र पहिरोले धनजनको क्षती भएपछि मन्त्री जोशीले उद्धार, खोज, राहत र पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन र स्थानीय सरकारलाई सहयोग गर्न भनिन् ।
“अविरल बर्षाको कारण दार्चुला जिल्लामा भएको मानवीय र भौतिक क्षतिले अत्यन्तै दुखित तुल्याएको छ , उनले भनिन्,-“उद्दार, खोज, राहत , पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय,प्रशासन, स्थानीय सरकारलाई सहयोग गरी वास्तविक पीडितलाई सहयोग गरिदिन अपिल गर्दछु।” साथै उनले प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको समेत बताईन् ।
जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षती पुर्याएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए । यकिन विवरण नआएको बताउँदै उनले दुईजना वेपत्ता र एकजनाको मृत्यु भएको भन्ने जानकारी आएको बताए । घटनास्थलमा अहिले सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीय र सरोकारवाला निकायको टोली खटिएर उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।