काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र सांसदहरू सनाखतका लागि आज निर्वाचन आयोगमा जाने भएका छन् ।
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि समय तोकेको छ । चन्द्रागिरिमा गत सोमबारदेखि केन्द्रीय कमिटी बैठकमा जुटेका अध्यक्ष नेपालसहित नेताहररु त्यहीँबाट आयोगमा जाने तयारीमा छन् ।
बैठकमा एकिकृत समाजवादीको अन्तरिम विधान, घोषणा पत्र र नियमावली पेस भएको थियो । नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल पक्षले आयोगमा पुर्याउनुपर्ने हुन्छ ।
त्यस्तै, आयोगले महन्थ ठाकुरको नयाँ दल दर्ताका लागि पनि बुधबार नै बोलाएको छ । ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।