हरिष भट्ट धनगढी : वर्षायामका बेला धनगढी उपमहानगरपालिका कैयौं सडक हिलाम्य र खाल्डाखुल्डीले आवागमनमै समस्या भोग्नुपरेको नगरवासीको गुनासो छ । उपमहानगरले ग्राभेलिङ र खाल्डाखुल्डी पुर्ने नाममा वार्षिक ४ करोडभन्दा बढी बजेट खर्च गर्ने गरेको छ । सडकमा करोडौँ रकमको ग्राभेल बर्षै प्रत्येक बगेर जान्छ । तर यी सडक पिच तर्फ उप महानगरको ध्यान पुग्दैन ।
बर्खाको समयमा धनगढीको मुख्य बजार मार्गसहित प्रमुख आवासीय क्षेत्र हसनपुर, तारानगर, उत्तरबेहडी, बैयाबेहडीभित्रका दर्जनौं भित्री सडकको पिच फुटेर खाल्डाखुल्डी परेका छन् । ती सडकमा आउजाउको समस्या र दुर्घटना बढ्ने गरेको स्थानीय टोलवासीले गुनासो गरेका छन् । न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक बर्खा पनि टिक्दैनन् । पिच फुटेर सडकमा ठूल्ठूला खाल्डाखुल्डीले आउजाउ मात्रै नभएर दुर्घटनासमेत बढाएको छ । नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको स्थानियको आरोप छ ।
‘न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक बर्खा पनि टिक्दैन’ धनगढी ३ की पदमा पालले भनिन्, ‘पिच फुटेर सडकमा ठूल्ठूला खाल्डाखुल्डीले आउजाउ मात्रै नभएर दुर्घटनासमेत बढाएको छ ।’ नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको उनले आरोप लगाइन् । उनले बोराडाडी पीपल चौतरा सडकका खाल्डाखुल्डी पुरेको नाममा मात्रै अहिलेसम्म भएको खर्च खोज्ने हो भने लाखौं रकम खर्चिएको पाउन सक्ने बताइन् ।
अढाई किलोमिटर सडकमा एक सय ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी छन् र खाल्डाखुल्डीले यो सडक खण्डमा दिनहुँजसो दुर्घटना निम्त्याउने गरेको अटो चालकहरुले बताएका छन् । धनगढीमा बिगत २ बर्षदेखी अटो रिक्सा चलाउँदै आएका जनक चौधरीले भने ‘चटकपुर सहिदगेट देखी क्याम्पससम्मकोे सडक वडा नम्बर ४ र ५ मा पर्ने उत्तरबेहडी, तारानगर, हसनपुरको बाहिरीपट्टि पर्ने अति चल्तीको सडक पनि हो । अत्तरिया र धनगढी ६ लेनबाट बजार प्रवेश नगरी आवासीय क्षेत्रमा जाने मुख्य सडक भएकोले मानिसको चाप निकै हुन्छ ।’ उनले भने ‘ खाल्डाखुल्डी भर्न नगरपालिका र वडाबाट ८÷१० टिपर ग्राभेल खसाउँछ । त्यसले झन् सडक खराब बनाएको छ । नगरपालिका आफैं खाल्डाखुल्डी पुर्ने ग्राभेलमा ढुंगा बढी भएर झन् सडक दुर्घटना गराउने गरेको छ ।’
धनगढी उपमहानगरपालिकाले भने हिलाम्य र खाल्डाखुल्डी पुर्नमा वार्षिक १ करोड खर्च हुने गरेको जनाएको छ । आफ्नै टिपरमा ग्राभेल ल्याएर खाल्डाखुल्डी पुरिरहेको जनाउँदै नगरपालिकाले खोलानाला बन्द भएकाले धेरै ठाउँका खाल्डाखुल्डी पुर्न नसकिएको बताएको छ ।
धनगढी उपमहानगरका मेयर नृप बहादूर वडले हरेक वर्ष ३० देखि ४० किलोमिटर ग्राभेल सडक, १० देखि १५ किलोमिटर कालोपत्र सडक बन्दै गएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ४० किलोमिटर ग्राभेलिङ सडक निर्माणमा ३ करोड खर्च भएको छ । उनले आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म १ सय ७४ किलोमिटर ग्राभेलिङ सडकमा करिब १० करोड जति खर्च भएको बताए ।
एनले ढल नालीबिनाका भित्री क्षेत्रमा बर्खामा पानी जम्ने समस्याले सडक फुट्छ, खाल्डाखुल्डी हुन्छ स्वाभाविक रूपमा गुनासो आउने गरेको बताए । ‘त्यसैले पछिल्लो समयमा ढल र नालीबिना आवासीय क्षेत्रको सडक योजना बन्द गरिसकेका छौं’ उनले भने ।
उनले सहरीकरणको पहिलो चरणमा तीव्र समस्या देखा पर्ने गरेको बताए । ‘अहिले धनगढी उपमहानगरपालिका पनि पहिलो चरणको सहरीकरणमा छ,’ वडले भने ‘सडकलगायत सबै पूर्वाधार विकासमा कमीकमजोरी र समस्या देखिन्छ । जनताको चाहना तीव्र रूपमा समस्याको समाधान खोज्ने हुन्छ । बजेट भने अभाव हुन्छ ।’