धनगढी । नेकपा एमाले बिभाजन भएसँगै सुदूरपश्चिममा गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । सुदूरपश्चिममा गठबन्धन सरकार बन्नका लागि छलफल सुरु भएको छ।
अब बन्ने सरकारमा एमाले बाहेक काँग्रेस,माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुनेछन्। सुदूरपश्चिममा जसपाका दुई जना सांसदले समेत आफूहरु आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरु पनि सत्ताको साझेदार हुनेछन्। सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताए। हामी केन्द्रको निर्णयको पर्खाइमा छौं, रावलले भने, दशै अघि नै प्रदेश सरकारको नेतृत्व फेरबदल हुन सक्छ।
हाल सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। केन्द्रको सहमती अनुसार उनले मुख्यमन्त्री पद त्याग्ने छन्। सुदूरपश्चिममा नेकपा एमाले बिभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए। माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ।
एमाले बिभाजन भएसँगै माधवलाई साथ नदिने मन्त्रीको पद धरापमा
सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपालको साथ छोड्ने मन्त्रीहरुले पद गुमाउने भएका छन्। प्रदेश सरकारमा हाल माओवादी र माधव नेपल समूहका सांसद मात्रै मन्त्री भएका छन्। नेकपा एमाले विभाजन भएसँग नेपालको साथ छोड्नेहरुले मन्त्री पद गुमाउने भएका हुन्। लामो समयसम्म माधव नेपालको साथमा रहेका भिम रावलले नेकपा एमालेलाई साथ दिने भएपछि रावल निकट एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहसहितका मन्त्रीपद धरापमा पर्ने भएका हुन्।
भीम रावलका विश्वास पात्रको पनि माधवको पार्टीलाई साथ
सुदूरपश्चिम प्रदेश सभाका अधिकांश सदस्यहरुले पार्टी विभाजसँगै भीम रावलको साथ छोडेका छन्। रावलका विश्वासिला पात्रका रुपमा मानिने दिर्घ सोडारीले पनि साथ छोडेका छन्। सोडारी यतिबेला काठमाडौँ छन्। उनी बुधवार अर्याल होटलमा भएको माधव नेपाल पक्षको भेलामा समेत सहभागी थिए। उनले आफू सहित अधिकांश प्रदेश सभा सदस्य नेकपा एमाले समाजवादीमा आबद्ध हुने बताएको स्रोतले बतायो।
अमर साउँद र बल बहादुर सोडारी उनी निकट मानिन्छन।गरिएका सोडारी यतिबेला प्रदेशको भौतिक पूर्बाधार मन्त्री बनेका छन्। उनी नेकपा एमाले कैलाली (माधव समूह)का अध्यक्ष समेत हुन्। सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको पक्षमा छन्।
न्त्री जोशीले आफू अतिवाद र प्रतिगमनको बिपक्षमा भएको बताईन।पूर्व वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट पनि भीम रावलको साथ छोडेकी छन्।त्यस्तै नेकपा एमाले कञ्चनपुरमा अध्यक्ष रहेका तारा लामा तामाङ, प्रदेश सभा सदस्य कुलवीर चौधरी, सुशिला बुढाथोकी तटस्थ रहेका छन्।
आर्थिक मामिला मन्त्री प्रकाश शाह भने नेता रावलको पक्षमा देखिएका छन्।मन्त्री शाहले पार्टी बिभाजन गर्ने सैद्धान्तिक र बैचारिक आधार नभएको र आफू पार्टी बिभाजनको पक्षमा नरहेको बताउँछन्। हर्क बहादुर कुँवर पनि रावलको पक्षमा खुलेर लागेको देखिदैनन।प्रदेश सभा सदस्य प्रकाश रावल पनि भीम रावल निकट मानिन्छन।
तर यतिबेला उनी तटस्थ छन्।चुनकुमारी चौधरीलाई रावलले राज्य मन्त्री बनाएका हुन्। यद्दपि मन्त्री पद जोगिने शर्तमा मात्र उनी रावलको पक्षमा जाने देखिन्छन, स्रोतले भन्यो, तर अहिलेको सरकारमा रहेकाहरु रावललाई साथ दिदा भने मन्त्री पद गुमाउने निश्चित छ। पार्टी बिभाजनले नेपाल समूह पनि सुदूर पश्चिम प्रदेश सभामा बिभाजन भएको छ।कतिपय सांसद एकताका पक्षमा भन्दै तटस्थ देखिएका छन्।
सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ
जनता समाजवादी पार्टी (जसपा)का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् । प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी रानाले उनीहरूको साथ छाडेका हुन् ।
विगतमा महन्थ–राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य दुबैले उनीहरूको साथ छोडेका हुन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवै जनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।