धनगढी : नेकपा एमाले बिभाजनसंगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने छलफल शुरु भएको छ। माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई÷दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमती भईसकेको अवस्थामा सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भईसकेको थियो । अब बन्ने सरकारमा काँग्रैस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छ ।
अर्थात बन्ने बन्ने सरकारमा नेकपा एमाले बाहेक सबै दलहरु सहभागी हुने छन् । जसमा दुई जना सांसदले समेत आफूहरु आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरु पनि सत्ता साभेदार हुने छन् । सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताए । ’हामी केन्द्रको निर्णयको पर्खाईमा छौ’,रावलले भने,’संभवत दशै अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’
हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमती अनुसार उनले मुख्यमन्त्री पद छोडेने छन् । सुदूरपश्चिममा नेकपा एमाले बिभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।
सुदूरपश्चिममा कमजोर बन्दै नेपाल
सुदूरपश्चिममा एमालेका उपाध्यक्ष भीम रावलको प्रभाव बलियो छ । विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन् । उनले नेपालको साथ छोडेको चर्चा पनि छ । रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन् ।
उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा सदस्यको साथ पनि गुमाएको आकलन गर्न थालिएको छ । अधिकांश प्रदेश सांसदहरु रावलले लिने निर्णयअनुसार नै अगाडि बढ्ने तयारीमा देखिएका छन् । नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निर्णय नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको एक सासंदले बताए । ‘हाम्रो नेता भीम रावल हुन्,’ उनले भने, ‘रावलको निर्णयअनुसार नै सुदूरपश्चिमको अंकगणित पनि फेरबदल हुन्छ ।’
अहिले नेपाल समूहको एमाले समाजवादीको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २५ प्रदेश सांसद मध्ये दुई जना मात्रै परेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्ववनमन्त्री माया भट्ट मात्रै केन्द्रीय कमिटीमा परेका छन् ।
विगतमा माधव समूहमा १८ जना र ओली समूहमा सात जना प्रदेश सांसद रहेका थिए । पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी मात्रै ओली पक्षमा थिए भने वर्तमान मन्त्रिमण्डलका चार मन्त्रीसहित १८ जना सासंद नेपाल पक्षमा थिए ।
तर मन्त्री जोशीबाहेक अन्य मन्त्रीले समेत एमाले विभाजनलाई साथ दिएका छैनन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्काले तत्काल एमालेमै रहने संकेत देखाएका छन् ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुुपर्ने सुुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ ।