काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशलाई खेदजनक भन्दै आपत्ति जनाएका छन् । मंगलवार अपराह्न सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै बिष्टले यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गर्न अपील समेत जारी गरेका छन् ।
‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरित दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ,’ बिष्टले भनेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ ।’
बिष्टले अध्यादेशले राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्ने दाबीसमेत गरे । ‘यसले दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ,’ बिष्टले लेखेका छन् ।