दार्चुला। दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्नको चरम अभाव भएको छ । तुइनको साहरामा महाकाली नदी तर्दै आएका व्यासबासी भारतीय एसएसबीले तुइन काटिदिएपछि खाद्यान्नको चरम अभावको समस्यामा परेका छन् ।
दार्चुला सदरमुकाम पुग्नका लागि नेपाल तर्फको बाटो अप्ठ्यारो हुँदा समस्या भएको स्थानीयहरुले जानकारी दिएका छन् । भारतीय बाटो प्रयोग गर्दै सदरमुकाम पुग्ने गरेका व्यासबासी पछिल्लो समयमा खाद्यान्नको समस्यामा परेका हुन् । नेपालतर्फ बाटो नहुनु र भारतीय सम्पर्कपनि बिच्छेद भएका कारण मालगाउँमा अहिले खाद्यान्नको संकट भएको स्थानीय हरक कार्कीले भनेका छन् ।
व्याँस गाउँपालिका-२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेकोले गाउँमा खाद्यान्नको संकट भइसकेको उनको भनाई छ। व्यासको वडा नम्बर १, २ र ३ का स्थानीयवासीलाई बढी समस्या भएको व्यास गाउँपालिकाका प्रवक्ता एबं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले जानकारी दिए ।
गाउँमा खाद्यसंकट भएपछि केहिले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् तर अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षीत बाटोमा जोखिम मोलिरहेका छन् । व्याँसमा खाद्यान्न अभाव भएपछि स्थानीयहरुले हेलिकप्टरबाट खाद्यान्न ढुवानीका लागि माग समेत गरेका छन् ।