कञ्चनपुर। भीमदत्तको जैविक मार्ग कालोपत्रे गर्ने तयारी गरिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ।
नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रेका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो। निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत जैविक मार्ग कालोपत्रे गर्ने योजना अघि बढाइएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १६५ ओटा सडकको शिलान्यास गरेका थिए।जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनोटमा परेको हो। यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए।
निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत जैविक मार्ग कालोपत्रको तयारी भइरहेको र ९ किलोमिटर सडक कालोपत्र गर्न लागत इस्टिमेट तयार भइ एक महीनाभित्रै विभागबाट योजना स्वीकृत भइसक्ने जोशीले बताए। भदौ पहिलो हप्तामा कालोपत्रलागि ठेक्का आह्वान गरिने सडकको निर्माण आर्थिक वर्ष २०८०/८१ सालभित्र सक्ने लक्ष्य लिएको छ।
भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ।धार्मिक पर्यटन मार्गलाई चुरेको फेद हुँदै वेदकोट–गोदावरी र कर्णालीसम्म पुर्याउने लक्ष्य लिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरी प्राथमिकताका साथ काम अघि बढाएको छ।अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भइरहेको छ।
नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ। सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ।चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ भने सडक पूर्वाधारबाट वर्षौंदेखि वञ्चित स्थानीयलाई यातायातमा सहज भएको छ ।