काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६७ एन्टिजेन परीक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३ हजार ४ सय ३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १सय ८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ९५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५ सय ३५, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कास्कीमा २ सय १३, चितवनमा १ सय ४३, झापामा १ सय ३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जना संक्रमित भेटिएका छन् ।