बाजुरा। बाजुराको गौमुल गाउँपालिकामा बाँदर आतंकले किसान चिन्तीत बनेका छन् । बाजुराको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा बाँदरले बाली नष्ट गरेपछि स्थानीय चिन्तित भएका हुन् ।
स्थानीयले खेतबारीमा लगाएको आलु, मकै, सिमी र फलफूल बाँदरले खाएपछि किसानहरु चिन्तित बनेका हुन्। बाँदरले गाउँमै पसेर आलु, मकै, सिमी र फलफूल सखाप पारेको स्थानीयले बताएका छन्।
गौमुल गाउँपालिका-६ को मेल्लेख, कणानी, धौला, देउपाटा, देउल्याडी लगायतका ठाउँमा बाँदरले स्थानीयले लगाएका अन्नपात पूर्ण रुपमा खाएर सखाप पारेको स्थानीय किसान रामबहादुर बिकले बताए। स्थानीय करिव २ सय ५० बढी घरपरिवारको ५० रोपनी जग्गामा लगाईएको आलु, मकै, सिमी र फलफूल लगायत बाँदरले नष्ट गरेको उनको भनाई छ।
खेती गर्ने बेला दुःखले लगाएका स्थानीयले उब्जनी हुने समयमा बाँदरले सखाप बनाएपछि लाखौंको नोक्सानी भएको छ। बाँदर पाल्नको लागि मात्र खेती गरेको जस्तो भएको किसानको गुनासो रहेको छ। किसानहरुले लेकमा लगाएको हरेक बालीमा हरेक वर्ष बाँदर आतंक हुने गरेको छ। हरेक वर्ष बाँदरले खाद्यान्न र फलफूल नष्ट गरेर सताउने गरेको छ।
बिहान सबेरैदेखि राति अबेर सम्म बाँदरले दुःख दिने गरेकाले बाली जोगाउन नसक्दा खेतबारी बाँझै छाड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्। गौमुल गाउँपालिका र जिल्ला कृषि ज्ञान केन्द्र बाजुरासंगको समन्वयमा यन्त्र सहयोग गरिने भएको छ।