धनगढी। कैलालीको भासु भिरमा जीप दुर्घटना भएको छ । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका–३, स्थित भाँसु भीरमा जीप खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा क्रलाली चुरे–६, का ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१, की पाँच वर्षीया एलिसा खड्काको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याएपछि मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेती जानकारी दिए । यस्तै,जीप चालक जोरायल गाउँपालिका–१, का ३१ वर्षीय रमेश खड्का, सोही ठाउँका २८ वर्षीया निर्मला खड्का र चुरे–६, का आठ वर्षीय सुशील साउँद घाइते भएका छन् ।घाइतेहरुको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये साउँदको अवस्था गम्भीर रहेको प्रहरी निरिक्षक उप्रेतीले बताए । धनगढीबाट डोटीको गैरा जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ९०५९ नम्बरको जीप बेलुकी दुर्घटना भएको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी निरिक्षक उप्रेतीले बताए । जीप अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ । यस बारे थप बिवरण आउँन बाकी रहेको छ ।