कञ्चनपुर । कञ्चनपुरका युवक टनकपुर ब्यारेज नजिकै जंगलमा मृत भेटिएका छन् । शुक्रबार राति ब्रह्मदेवका २० वर्षीय कमल वड टनकपुर ब्यारेजको दक्षिणतर्फका जंगलमा शुक्रबार राति मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार वड साउन २० गतेदेखि सम्पर्कविहीन थिए। उनको खुट्टामा चोट देखिएको छ । जंगलमा झाडीभित्र शव भेटिएको उनले बताए ।
बुधबार साँझ वडसँगै घुम्न गएका ब्रह्मदेवका २० वर्षीय मनोज भट्ट र भीमदत्त -९ का २२ वर्षीय गणेश औजी सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी न्यौपानेले बताए । उनीहरुलाई सोधपुछ गर्ने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । भारतीय क्षेत्रमा रहेको शव ल्याउने विषयमा भारतीय प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।