दार्चुला। दार्चुला जिल्लामा ८ जना ब्यक्तीमा स्क्रब टाइफस देखिएको छ । जिल्ला अस्पताल दार्चुलाले दिएको जानकारी अनुसार तिन वटा स्थानीय तहका ६ जना महिला सहित ८ जनामा स्क्रब टाइफसका विरामी देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । सूचना अधिकारी भट्टका अनुसार साउन १३ गते देखि १८ गते सम्म २ जना पुरुष तथा ६ जना महिला गरी ८ जनामा स्क्रब टाइफस देखिएको छ । दार्चुलाको मालिकार्जुन र व्याँस गाउँपालिकामा १/१ जना र महाकाली नगरपालिकामा ६ जनामा स्क्रब टाइफस देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको अस्पतालले जनाएको छ ।
गत बर्षमा जिल्लाभरी ३४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो। हालसम्म जिल्लामा देखिएकाहरु स्क्राब टाइफसका बिरामीलाई घर पठाइएको छ । चिकित्सकहरुका अनुसार माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी सुझाब दिएका छन् । गत वर्ष देखिएकाहरु मध्ये २५ जना महिला रहेका छन् । अहिले पनि ६ जना महिला नै छन । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रब टाइफसको जोखिममा रहेको पाइएको जनाएको छ ।