काठमाडौं। न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ। पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन्।
एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको बताए।‘छलफल वरिष्ठ नेता नेपालसहितको भएकाले स्थायी समिति सदस्यहरु बीचको छलफल भन्दा हुन्छ’ विष्टले भने, ‘दुई बजे बानेश्वरमा छलफल राखिएको छ ।’
सो समूहमा अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव नेता नेपालमाथि छ। तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालले बताउँदै आएका छन् । अर्कोतिर माधव नेपाल समूहलाई देउवा नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनको दवाव छ । यसमा पनि नेता नेपालले सरकारमा सहभागी नहुने बताएपनि उनकै समूहका नेताहरु सरकारमा जानुपर्ने अडानमा छन् ।