बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत गर्न स्वयंसेवक खटाएको छ। गाउँपालिकाले निर्माण गरेका सडकहरुलाई व्यवस्थित र सुचारु गराउन सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको जनाइएको छ । केही दिन पहिला नियुक्त गरेका ४० जना सडक मर्मत स्वयंसेवकलाई फिल्डमा खटाएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिएका छन्। सडक मर्मत स्वयंसेवकका लागि चालु आर्थिक बर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताएका छन्।
एकजनालाई मासिक १३ हजार ५ सयका दरले तलब दिने गरेर सडक मर्मत स्वयंसेवक परिचालन गरिएको धामीले जानकारी दिएका हुन्। पालिकाले निर्माण गरेका वडा केन्द्र जोड्ने सडकहरुमा काम गर्ने गरेर सडक मर्मत स्वयंसेवक खटाइएको हो । आफ्नै सडक मर्मत स्वयंसेवक नियुक्त गर्ने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो पालिका हो। यसअघि कुनै पनि स्थानीय तहले सडक मर्मत स्वयंसेवक नियुक्त गरेको छैन् ।