काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठकले सदस्यता नवीकरण र अध्यावधिक गर्न समयसीमा निर्धारण गरेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको समितिको बैठकले साउन २३ गतेभित्र सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाउनुपर्ने समयसीमा तोकेको हो। महासचिव ईश्वर पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘आज हामीले खासगरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अध्यावधिक गर्ने एउटा समयसीमा तय गरेका छौं।
पहिले नै निर्देशन दिइसकेको हो। अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ ।’ आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको पनि उनले बताए। असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने, असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने र विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्ने पनि उनले जानकारी दिए ।