काठमाडौँ,। कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई यस वर्षको बारबरा फाउन्डेसन सम्मान र पुरस्कार प्रदान गरिएको छ । फाउन्डेसनले शनिवार सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा कार्यरत कन्सलट्याण्ट फिजिसियन डा. निराजन दत्त शर्मा पौडयाल, मेट्रोन सीमा शर्मा र नर्स कल्पना विष्ट सहित देशभरीमा कोभिड महामारीविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गरेका चिकित्सक, स्वास्थ्यकर्मीसंगै भरतपुर, पाटन, नेपाल प्रहरी र नेपाल एपीएफ अस्पताल, नेपाल एम्बुलेन्स सेवा, हामी नेपाल र नेपाली सेना मृत शरीर व्यवस्थापन समूह सहित संस्थागततर्फ विशिष्ट सम्मान प्रदान गरेको छ ।
सुदूरपश्चिमबाट सम्मानित हुने तीनै जना सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् । फाउण्डेसनद्धारा आज काठमाण्डौमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव, भगवान कोईराला, फाउण्डेसनका अध्यक्ष डा.सन्दुक रुईत लगायतले उनीहरुलाई पुरस्कार र कदर पत्र सहित सम्मान गरेका हुन् । फाउण्डेसनले कोभिड–१९ महामारीमा अंग्रपक्तिमा खटिएका चिकित्सक, नर्सिङ, स्वास्थ्यकर्मी र संस्थागत बिधातर्फ सम्मान गरेको हो । चिकित्सक विधातर्फ २० जना चिकित्सक २ लाख ५० हजार र २ लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । नर्सिङ विधामा २७ नर्सलाई १ लाख २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ ।
मेडिकल सपोर्ट तर्फ ल्याब र प्यारा–मेडिकल क्षेत्रमा योगदान गर्ने ९ जनालाई जनही १ लाख नगदका दरले पुरस्कृत गरिएको छ । स्वास्थ्य सहयोगी कर्मचारीतर्फ ५ जनालाई एक लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ । उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिएकोमा तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइएको र अन्यलाई सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले बताए ।