बैतडी। लगातारको बर्षाका कारण पहिरो खसेपछि बैतडीको पुर्चौंडी नगरपालिका १० तल्लादेहीका पाँच घरपरिवार विस्थापित भएका छन् । घरमाथिबाट पहिरो खसेपछि केही घर पूर्ण रुपमा र केही आंशिक रुपमा क्षतिग्रस्त भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । पहिरोका कारण मानवीय क्षति नभएपनि पशुचौपायामा क्षति भएको उनले बताए । घरमाथिबाट खसेको पहिरोले डाँडाखालीका करन लुहारको बाख्रा,खरायो र कुखरा च्यापिएर मरेका छन् भने जनक दमाईको एक गाई र १ बाख्रो मरेका छन् । यस्तै सोही ठाउँका जयराम लुहारको खरायो र बाख्रा पहिरोमा च्यापिएर मरेका प्रहरी निरीक्षक ओझाले बताए ।
आइतबार राती घरमाथिबाट खसेको पहिरोले करन लुहार, जनक दमाई, जयराम लुहार,गगनराम सार्की र डम्मर सार्कीको परिवार विस्थापित भएको छ । विस्थापित परिवार मध्ये जयराम लुहार र गगनराम लुहारको परिवार लोखाडी आधारभूत विद्यालय डाँडाखालीमा बसेको प्रहरी निरीक्षक ओझाले बताए । यस्तै डम्मर सार्कीको परिवार गोपी सार्कीको घरमा बसीरहेको छ भने अन्य विस्थापितहरु पनि छिमेकीको घरमा बसीरहेका बताइएको छ । पहिरोका कारण सो ठाउँका अन्य ९ घर पनि पहिरोको जोखिममा रहेका छन् । लगातार बर्षा भईरहेकाले पहिरोको जोखिम कायमै रहेको छ । विस्थापित परिवारलाई गाँस,बास र कपासको समस्या भएको स्थानीयहरुले बताएका छन् ।