धनगढी। धनगढीमा कोभिड खोप लगाउन घरदैलोमा नाम दर्ता अभियान थालेको छ । धनगढी उपमहानगरपालिकाले कोभिड खोप लगाउने कार्यलाई ब्यबस्थित गर्नका लागि घरदैलोमा नै पुगेर नाम दर्ता गर्न थालीएको हो। धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले अनलाईन नामदर्ताका लागि उपमहानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको जानकारी गराए । उनले भने कोभिड खोप लगाउनबाट कोहि बन्चीत नहुन भनेर घरमै पुगेर १८ बर्ष भन्दा माथीका ब्यक्तिहरुको नामदर्ता सुरु गरेका छौं । अहिले ४० जना यूवा स्वयंसेवकहरु घरदैलोमा पुगेर अनलाईन नामदर्ता गरिरहेका छन् । धनगढी उपमहानगरपालिकाको सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका परिसर, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुथ स्थापना गरि सेवाग्राहीको नाम दर्ता शुरु गरिएको बताउदै मेयर वडले ४० जना यूवा स्वयंसेवकहरु परिचालन गरेर घरदैलोमा समेत पुगेर अनलाईन नामदर्ता शुरु गरिएको बताए । उनले यसरी नाम दर्ता गरेका ब्यक्तिहरु खोप लाउन आउदा आफ्नो दर्ता नम्बर लिएर आए धेरै बेर लाइनमा बस्न नपर्ने भन्दै सबैलाई नाम दर्ता गर्न आग्रह गरे ।
श्रावण मसान्त सम्म धनगढी उप–महानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य छ । यस्तै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अनलाईन नामदर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरिन । नामदर्ता गरिएपछि खोप लगाउने कार्य ब्यबस्थीत हुने छ उप–प्रमुख भट्टले भनिन्, ‘ नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेज बाट थाहा पाउने छन् जसले गर्दा खोप केन्द्रमा भिड कम हुन्छ ।’ अनलाईन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले यो अभियान प्रदेशभरीमा धनगढीले मात्रै संचालन गरेको जानकारी दिए । धनगढी उप–महानगरपालिकाबासीले यो अभियानलाई अवसरको रुपमा लिनुपर्ने उनले भने ।’ अभियानमा धनगढी उप–महानगरपालिकासंग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, यूएनडिपीको सहकार्य र साझेदारी छ ।