काठमाडौँ, जनता समाजवादी पार्टीका निलम्बित सांसद् रेशम चौधरीलाई निर्वाचन आयोगमा झिकाइएको छ । सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला सनाखतका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको हो । आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता दिन सनाखतको काम गरिरहेको छ ।यस्तै, जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए । उनले पहिले उपेन्द्र यादवसँग छलफल गरेर महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् ।
टीकापुर घट्नामा मुख्य दोषी ठहर गर्दै अदालतले सांसद चौधरीले जन्मकैदको फैसला सुनाएको छ । जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । बहुमत पुर्याउने पक्षलाई आयोगले आधिकारिकता दिँदै छ । जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका लागि ५ बजेसम्मको समय आयोगले दिएको छ । अहिलेसम्म ५० जनाले सनाखत गरिसकेका छन् । रेशम चौधरीले सनाखत गरेपछि निर्वाचन आयोगले निर्णय सुनाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।