कञ्चनपुर। कञ्चनपुरमा निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कञ्चनपुरमा तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै नागरिक समाज कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
नागरिक समाज कञ्चनपुरका अध्यक्ष नरबहादुर साउदले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा पनि दोषीहरू कानुनी दायरामा नआउनु दुःखद भएकाले र तत्काल दोषीहरूको पहिचान गरी कारबाहीको मागसहित कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए। कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्न समेत सरकारसँग समेत माग गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरिक समाजले निर्मला पन्तको हत्या र कोभिड–१९ महामारीको विषयलाई लिएर बुझाएको ज्ञापन पत्र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पठाउने भनेका छन्। निर्मला पन्तको २०७५ साल श्रावण १० गते हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।