धनगढी । विकास निर्माण योजनामा आएको रकम खर्च गर्न नसक्दा कैलाली जिल्लावाट मात्रै ५ अर्ब बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार १० ठूला आयोजनाको कुल बजेट रकम ९ अर्ब ४२ करोड बढी रहेकामा ५ अर्ब ४७ करोड मात्रै खर्च भएको छ । चालुतर्फ ९६ प्रतिशत बढी खर्च गरेका आयोजनाले विकासतर्फ भने करिब ५६ प्रतिशत मात्रै खर्च गरेका हुन् ।
कैलालीमा सञ्चालित राष्ट्रिय गौरव तथा बहुवर्षीय ठूला आयोजनाको मात्रै ३ अर्ब बढी बजेट फ्रिज छ । आर्थिक वर्ष २०७७र०७८ मा कोभिड र अन्य प्राविधिक समस्या भएर अपेक्षागत प्रगति गर्न नसकेको आयोजना कार्यालयहरूले जनाएका छन् । तर, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगति भएको उनीहरूको भनाइ छ । सबैभन्दा कम संघीय आयोजना कार्यान्वयन इकाईको २० प्रतिशत खर्च भएको छ ।
आयोजनाका इन्जिनियर झंकबहादुर थापाले धनगढी बजार, भीमदत्त नगरपालिकाको महेन्द्रनगर, शुक्लाफाँटाको झलारी र गोदावरी नगरपालिकाको अत्तरियामा फोहोर व्यवस्थापन केन्द्रको बजेटको रकम कम खर्च भएको बताए । ‘एसियाली विकास बैंकको ऋण सहयोगमा फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि एकमुष्ट २ अर्ब बढी रकम आएको थियो,’ उनले भने, ‘बहुवर्षीय रूपमा सम्पन्न हुने योजना हो । त्यसैले चालु वर्षमा २० प्रतिशत मात्रै काम भएको देखिएको हो ।’ उनले बजेट फ्रिज भए पनि तुरुन्तै बजेट पुनः आउने बताए ।
यस्तै राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालु वर्षमा विकासतर्फ ५४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकास बजेटको २ अर्ब २२ करोड बढी रकममा करिब एक अर्ब फ्रिज गएको छ । रानी जमराकै कृषितर्फ पनि ६३ प्रतिशत मात्रै खर्च भएको छ । कृषि कार्यक्रमतर्फको कुल बजेट १७ लाख बढी रहेकामा १० लाखको हाराहारीमा मात्रै खर्च भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापनको विकासतर्फको कुल बजेट ५५ करोडमध्ये ३४ करोड मात्रै खर्च भएको छ । उक्त खर्च ६१ प्रतिशत मात्रै हो । सहजपुर–बोग्टान–दिपायल सडकको यो वर्षका लागि विनियोजित भएको कुल बजेट १ अर्ब १२ करोडमध्ये ५५ करोड ७१ लाख बढी रकम मात्रै खर्च भएको छ । यो प्रतिशतमा ५० हाराहारी मात्रै हो ।