धनगढी। नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालले धनगढीमा विरोध प्रदर्शन गरेको छ। धनगढीमा पूर्व मन्त्री प्रेमबहादुर आले र सांसद लक्ष्मी चौधरीको विरोधमा युवा संघले प्रर्दशन गरेको हो । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुहरुको विरोधमा युवा संघ उत्रिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर निर्दलियताको बीऊ रोपेको भन्दै उनीहरुलाई बहिस्कार गर्ने बताएको छ ।
धनगढीस्थित मुख्यमन्त्री कार्यालयदेखि पार्क मोडसम्म निकालिएको विरोध र्यालीमा उनीहरुले आले र चौधरीसहित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । सो क्रममा परमादेशबाट बनेको सरकार होसियार जस्ता नारा पनि उनीहरुले लगाएका थिए। एमालेमा ओलीकै खेमामा रहेका आले र चौधरीले संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदै माधव नेपालको पक्षमा उभिएका थिए । तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले आलेलाई पहिलो पटक संसद विघटन गर्दा वन तथा वातावरण मन्त्री बनाएका थिए । दोस्रो पटकको संसद विघटनपछि पदमुक्त भएका उनी ओलीसँग रुष्ट थिए ।