डोटी। जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ डोटीका सह-सचिव चक्र मल्लले अक्षय कोष स्थापनाका लागी सहयोग गरेका छन्। मल्लले आफ्नो जन्मदिनको अवसर पारेर तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार ५०० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । नेपाल प्रेस युनियन डोटी साखाका कोषाध्यक्ष समेत रहेका मल्लले तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व.तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ। कोषका लागि विभिन्न पत्रकार, सामाजिक क्षेत्रमा ब्यक्ती र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्।
हालसम्म कोष स्थापनाका लागि तीन लाख रकम घोषणा भएको शाखाका सचिव पवन महराले जानकारी दिए । लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व। खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको पत्रकार मल्लले जानकारी दिए । प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।