काठमाडौँ। कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको सोमबार बिहान शुभारम्भ गरेका हुन्। जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर प्रधानमन्त्री देउवाले अभियानको शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए। खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप रहेको बताए।
उनले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न पनि निर्देशन दिएका छन्। अमेरिकाले एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो। यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जोन्सन एण्ड जोन्सन खोपका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र निर्धारण गरिएको छ। आउँदो बुधबारसम्म यो खोप लगाइने छ।