धनगढी। एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन्। माधव नेपालपक्षीय नेता रावलले आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अगाडि नै ‘अनैतिक राजनीतिको मतियार नहुने’ भन्दै प्रतिनिधि सभा सदस्यको पदबाट राजीनामा दिएका हुन्। ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने वाचाअनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु,’ आइतबार राति उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’