काठमाडौं। नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् ।माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिन लागेका उनका सहयोगी गोविन्द दुवालले जानकारी दिएका छन् ।
आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ । माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदै छन् ।