धनगढी। सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको जनाएको छ । सार्वजनिक भाडादर अनुसार सुदूरपश्चिमको एउटै रुटमा ५०० रुपैयाँसम्म भाडा बढेको छ। जसअनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। काठमाडौँ–चैनपुरको २००६ बाट भाडा बढेर २५६८ पुगेको छ। काठमाडौँ–धनगढीको भाडा यसअघिसम्म १३२१ थियो भने नयाँ सार्वजनिक भाडादर अनुसार १६५७ पुगेको छ।
यस्तै काठमाडौँ–धनगढी–साँफेको १८७२ भाडा थियो भने अब २३५० पुगेको छ। काठमाडौँ–महेन्द्रनगरको १३३२ भाडा थियो भने अब १६७१ पुगेको छ। यस्तै काठमाडौँ–अत्तरिया–डडेल्धुरा हुँदै बैतडीको १७८४ थियो भने २२३८ पुगेको छ भने काठमाडौँ–अत्तरिया–सिलगढीको १६७५ भाडा थियो भने अब २१०२ पुगेको छ। काठभाडौँ अत्तरिया डडेल्धुराको भाडा चार सय बढेर १९५३ पुगेको छ। यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
असार २९ गतेदेखि लागू भाडा दरअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ । सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । २०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो । हेर्नुहोस सुची