काठमाडौं। पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बैठक सुरु भएको हो। सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।
कांग्रेसकातर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा सहभागी छन् भने एमाले नेता माधव कुमार नेपाल पनि गठबन्धन बैठकमा सहभागी छन् । जसपाकातर्फबाट संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र महेन्द्र राय यादवका र जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।