काठमाडौँ। नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दैछ । आजको बैठकमा नेताहरूले विवाद समाधानको घोषणा हुने बताएका छन् । सिंहदरबारमा हिजो बसेको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरू आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । “हामी भोलि(आइतबार)पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ,” हिजोको बैठकपछि भनेका थिए, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ ।
भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।” एमालेका उपाध्यक्ष भीम रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताएका थिए । अन्य कार्यदलका सदस्यहरू तत्काल मिल्ने बताइरहे पनि वरिष्ठ नेता नेपाल भने शक्ति बाँडफाडमा कुरा नमिल्दासम्म सहमति गर्ने पक्षमा देखिन्नन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर के हुन्छ भन्ने प्रश्न गरेका छन् । दाहालले भेटेर र देउवाले टेलिफोनमा यस्तो जिज्ञासा राखेका हुन् । संविधानको धारा ७६ को उपधारा ५ अनुरुप कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो हस्ताक्षर फिर्ता गराउन अनेकन प्रयास गरिरहेका छन् । तर नेपाल भने सर्वोच्चले फैसला नगर्दासम्म रोकिने पक्षमा देखिएका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फौसला सुनाउने मिति सोमबारका लागि तोकेको छ । बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।