काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘जनै खटिरा’का कारण स्वास्थ्यमा समस्या आएको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार ‘जनै खटिरा’ले सताएपछि चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेका छन् ।
शनिबार नेता नेपाल निवास कोटेश्वरमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको पनि गौतमले जनाएका छन् । नेता नेपाल र प्रचण्डबीच स्वास्थ्य समस्याका कारण संक्षिप्त भेट मात्र भएको तर अन्य विषयमा कुरा नभएको स्पष्ट पारेका छन् । चिकित्सकहरुका अनुसार जनैखटिरा (हर्पसजोस्टर)एक प्रकारको भाइरल ईन्फेक्सन भएकाले शरीरमा खटिरा आइसकेपछि निकै पीडा दिने गर्छ । चिकित्सकहरुका भाषामा यसलाई हर्पसजोस्टर भनिए पनि गाउँघरमा जनैखटिरा भन्ने चलन छ ।
यस्तै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ करिब २ घण्टा भेटवार्ता भएको थियो। भेटमा नेता नेपालले केही दिनदेखि जनैखटिरा आएर हैरान भएको बताएका थिए। त्यस भेटमा नेता नेपाललाई अध्यक्ष ओलीले ‘कालो तिल चबाएर खटिरा भएको ठाउँमा लगानुस् निको हुन्छ, ’जनै खटिरो निको हुन्छ भनेर सुझाब दिए। अध्यक्ष ओलीले विहीबार नाष्टको कार्यक्रममा जनैखटिरो कसरी निको हुन्छ भनेर बुधबार बेलुका नेताहरुलाई नेपाललाई दिएको टिप्स सम्झिँदै भने, ‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो।
पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहीँ बताईदिएँ। म आफैलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ। र दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिवरमा लान्छ त्यसले। साधारण औषधि कालो तिल आफैले चपाएर थपकथपक लगाईदियो भने, विमारीले चपाउन पनि आनन्द मान्छ। र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाईदियो भने लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टा भित्र सुक्छ। त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’