धनगढी । सुदूरपश्चिममा भेरोसिल खोप लक्षित आधाले पाएका छैनन् । सुदूरपश्चिममा कोरोनाविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएकामध्ये आधाले मात्र दोस्रो खोप पाएका छन् । उक्त खोप ६० वर्ष माथिको उमेर समूहलाई प्राथमिकता दिइने भनिएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा भेरोसिलको पहिलो मात्रा लगाउनेको संख्या ४० हजार ४ सय ३१ छ । यीमध्ये १९ हजार ९ सय १८ जनाले मात्रै भेरोसिलको पहिलो मात्रा लगाएको स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक धर्मानन्द गिरीले बताए ।
निर्देशनालयका अनुसार प्रदेशमा ६० वर्षभन्दा माथिको संख्या २ लाख ५७ हजार २ सय ४ छ । लक्षित उमेर समूहकाले खोप लगाउन नपाउनुमा सुरक्षाकर्मीलगायत फ्रन्टलाइनर र अन्य पहुँच र भनसुनवालाले खोप लगाउँदा अपुग भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जेठ २५ गतेदेखि यस प्रदेशमा भेरोसिलको पहिलो खोप दिइएको थियो । ‘हामी त पालै नपाएर फर्किएका थियौं,’ धनगढी ५ की सीतादेवी कुँवरले भनिन्, ‘दुई दिनसम्म लगातार कभर्ड हलमा लाइनमा बसेर पनि खोप लगाउन पाएनौं ।’ पहिलो मात्रा लगाएकालाई यतिबेला दोस्रो मात्रा दिइएको छ ।