डडेल्धुरा। डडेल्धुरामा पेट्रोलमा कालोबजारी भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ। डेल्धुरामा बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालो बजारी गरिएको भन्दै विरोध प्रदर्शन गरेको जनाएको छ । बजारमा कृत्रिम अभाव सृजना गरेर कालो बजारी गर्न खाजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो। डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएको समेत आरोप लागेको छ। यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दा समेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो।
पेट्रोल पम्पमा पेट्रोल नपाइने र बजारमा खुलयाम पाइने गुनासो बढेपछि प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको बोलन्या थली युनिट डडेल्धुराका सहसंयोजक सुरत तमोलीले जानकारी दिए। उनका अनुसार ‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिएको हो। प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन खोज्दा ४ बजे आउनू भनेर प्रशासनले आफूहरूलाई गेटबाटै फर्काएको सहसंयोजक तमोलीले भने। जिल्लामा सञ्चालित पम्पमा पेट्रोल नपाइने गुनासो दिनप्रति बढ्दै गइरहेको छ। बजारमा जताततै बोतलमा पेट्रोल पाइने तर पप्ममा पेट्रोल आएको दोस्रो दिन नै सकियो भन्दै सेवाग्राहीहरूलाई फर्काउने गरेको गुनासो मोटरसाइकल चालकहरूको छ। पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोकेभन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको गुनासो उनीहरूको छ।