काठमाडौँ। नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै निवेदन बुझाएका एमाले नेताहरु आफूहरुको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन्। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन पूर्व माओवादी नेताहरु मणिचन्द्र थापा, प्रभु शाह, टोप बहादुर रायमाझी र गोरीशंकर चौधरी निर्वाचन आयोग पुगेका हुन्।पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेकोले आफूहरुलाई गरिएको कारबाहीले पनि मान्यता पाउन नहुने उनीहरुको जिकिर छ। माओवादी केन्द्र त्यागेर एमाले रोजेका उनीहरुलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको थियो भने मन्त्री पदबाट पनि हट्नु परेको थियो। माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिएका हुन्।