काठमाडौं। सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।