काठमाडौं। आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो । एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको रातोपाटीलाई जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो।
कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो। बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ। कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् । सहमति जुटाउने प्रयासको स्प्रीट नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।