कञ्चनपुर। कञ्चनपुरमा जङ्गली हात्तीको बथान गाउँमा प्रवेश गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका स्थित उत्तरी क्षेत्र आसपासका केही बस्तीहरूमा जङ्गली हात्तीको बथान प्रवेश गरेको छ । मंगलबार साँझ बेलौरी नगरपालिका वडा ९ को गोरखनाथ सामुदायिक बन क्षेत्रको आसपासका मानव बस्तीमा प्रवेश गरेको हात्तीको बथान बुधबार बिहानसम्म रामघाट सामुदायिक बन र सिंहपाल सामुदायिक वन आसपासका बस्तीमा समेत पुगेको कुण्डा सब डिभिजन बन कार्यालय पचकडीयाका प्रमुख सहायक बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
उनका अनुसार,१५ देखि २० वटासम्मको सङ्ख्यामा रहेका जङ्गली हात्तीहरूले किसानले लगाएका बालीनालीमा क्षति पुर्याएको छ । मंगलबार साँझ ६ बजेको समयमा १२ जना मजदुरहरू ज्याला मजदुरी गरेर आफ्नो घर फर्किरहेको समयमा जङ्गली हात्तीको बथानले आक्रमण गर्न खोजेको तर मजदुरहरू भागेर ज्यान जोगाउन सफल भएको जानकारी दिए । मजदुरहरूका साइकलहरू भने हात्तीको बथानले तोडफोड गरेको र ती क्षतिग्रस्त साइकलहरू नजिकैको बन कार्यालयमा राखिएको यादवले जानकारी दिए। मानव बस्तीमै जङ्गली हात्ती पसिसकेकोले सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरिएको छ ।
बन प्रशासन, नेपाल प्रहरी र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू थप क्षति हुन नदिन सक्रिय रहेका छन् । हात्तीको बथान बस्ती आसपास पुगेको खबर पाउनासाथ मंगलबार साँझ देखि नै इलाका प्रहरी कार्यालय बेलौरी र मातहतबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए। उक्त बथान भारतीय सीमावर्ती दुधुवा नेशनल पार्कबाट केही समय पहिले नेपाल प्रवेश गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि पछिल्लो समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका खुला ठाउँहरू उक्त बथान देखिने गरेको छ ।